विश्वकप फुटबल छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओस बिचको खेल बराबरीमा सकिएको छ । पहिलो लेग अन्तर्गत बिहीबार दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
ठूलोमात्रामा उपस्थित घरेलु दर्शकलाई स्तब्ध पार्दै पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । नेपालका लागि अञ्जन विष्टले कीर्तीमानी गोल गर्दै खेल बराबरीमा ल्याए । उक्त गोल नेपालको हार टार्नका लागि निर्णायक बन्यो । खेलमा नेपाल विरुद्ध राम्रो लयमा देखिएको लाओसले गोलका केही सुन्दर अवसर गुमाएको थियो । त्यसोत नेपालले पनि सिमित अवसर सदुपयोग गर्न चुक्दा घरेलु मैदानमा अग्रताको अवसरबाट बञ्चित भयो ।
दोस्रो हाफको सुरुवातमानै खेलमा फर्किने क्रममा अञ्जनले ४८ औं मिनेटमा गोल गरेको थियो । नेपालका लागि अञ्जनले गोल गरे । यो अञ्जनको १३ औं अन्तराष्ट्रिय गोल हो । अञ्जनले सब्सटिच्युट एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपालालई बराबरीमा ल्याए भने सर्वाधिक गोल गर्ने खेलाडीको लाइनमा पनि उक्लिए ।
अञ्जनले गोल संख्या १३ पुर्याएसँगै हरी खड्का र निराजन रायमाझीकको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरे । सन् २०१४मा फिलिपिन्स विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका अञ्जन पछिल्लो समय राम्रो लयमा रहेका छन् । उनको राष्ट्रिय टोली बाट पहिलो गोल भने २०१९ को विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेईसँगको खेलमा गरेका थिए ।
अब नेपालले दोस्रो लेगमा लाओसको घरेलु मैदानमा मंगलबार प्रतिस्पर्धा गर्ने छ । लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।
यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।