विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिभलका लागि छनोट भएको छ ।
अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा गिरीको सोसल ड्रामा जानराको ‘चिसो घर’ प्रिमियर हुने भएको छ । साउथ एसिया सेक्सनमा वर्ल्ड प्रिमियरका लागि छानिएको हो ।
११ मिनेट लामो सर्ट फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीको अभिनय छ ।
विदुषीकै कथा, पटकथा र संवाद, विपीन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन छ ।