हङकङलाई हराउँदै घरेलु मैदानमा जारी युएई सम्मिलित टी २० आई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहिबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा क्याच आउट भए । ३४ बलको सामना गरेका आशिफले ६ चौका हाने । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एक/एक विकेट लिए ।