अमेरिकासँगको वार्ताअघि चीनका रक्षामन्त्री बर्खास्त

चीनले रक्षामन्त्री जनरल ली साङ्फुलाई पदबाट बर्खास्त गरेको छ । राष्ट्रपति सी चिनफिङले करिब एक वर्षअघि गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रूपमा आफ्नो अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेपछि पदबाट अचानक हटाइएका ली दोस्रो मन्त्री हुन् ।

यसअघि विदशेमन्त्री चिन काङलाई तीन महिनाअघि जुलाईमा पदबाट हटाइएको थियो । काङलाई उनका पूर्ववर्ती वाङ यीले विदेश मन्त्रीको रूपमा प्रतिस्थापन गरेका थिए । चिनलाई हटाउनुको कारण अझै खुलेको छैन ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले गरेको चीनको सीसीटीभीले रिपोर्ट गरेको छ । यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्री औपचारिक रुपमा हटाएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो।

रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको थिए । उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए ।

पश्चिममा आफ्ना समकक्षीहरू जस्तो नभई, चिनियाँ विदेश र रक्षा मन्त्रीहरू मुख्यतया नीति प्रवर्तनकर्ता हुन्, शीर्ष निर्णयकर्ताहरू होइनन्। तर ली र चिन दुबै राज्य काउन्सिलर थिए, जुन पद चीनको मन्त्रिपरिषदमा मन्त्रीभन्दा पनि उच्च ओहदा हो।

चीनको सबैभन्दा छोटो समयका विदेश मन्त्री ५७ वर्षीय चिन काङले मंगलबारबाट आफ्नो एक मात्र बाँकी रहेको सो सरकारी पद पनि गुमाएका छन्।

सम्बन्धित समाचार