अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन् । सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन्। मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए ।
मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन्। यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए।
कीर्तिमानी आठ पटक बालोन डि ओर जितेपछि मेस्सीले भने, ‘यस क्षणको आनन्द लिन यहाँ आउन पाउँदा खुसी लागेको छ। मैले आफ्नो करियर र मैले हासिल गरेका सबै कुराहरुमा इतिहासको उत्कृष्ट बन्नुपर्ने भाग्यको कल्पना समेत गर्न सक्दिन।’
फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।