भारतमा जारी विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलंकाबीच बैंगलोरमा महत्वपूर्ण खेल हुँदैछ । यो खेल विशेष छ किनकी यस खेलको नतिजाले सेमिफाइनल पुग्ने टोलीको भविष्य तय गर्न सक्छ ।
यस खेलमा पाकिस्तान र अफगानिस्तानको पनि नजर रहनेछ । तर, यो खेलमा पनि वर्षाको सम्भावना रहेको छ ।
न्युजिल्याण्ड र पाकिस्तानबीचको महत्वपूर्ण खेल पनि वर्षाले अवरुद्ध गरेको थियो । र, न्यूजिल्याण्डले ४०१ रन बनाएर पनि डकवर्थ लुइस नियमको आधारमा खेल हारेको थियो ।
सेमिफाइनलको दौडमा अहिले न्युजिल्याण्डबाहेक पाकिस्तान र अफगानिस्तानका टोली छन् ।
तीनै टोलीको आठ–आठ अंक छ र तीनै टोलीले एक–एक खेल खेल्नुपर्नेछ ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियाका टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
न्युजिल्यान्डले यो खेल जित्यो भने पाकिस्तान र अफगानिस्तानले आफ्नो अन्तिम खेल जित्न मात्रै नभई नेट रन रेटमा पनि अग्रता लिनुपर्नेछ ।
पाकिस्तानको अन्तिम खेल इंग्ल्याण्ड र अफगानिस्तानको अन्तिम खेल दक्षिण अफ्रिकासँग हुनेछ ।