: इजरायलको गुप्तचर संगठन मोसाद र अमेरिकी गुप्तचर संगठन सीआईएका प्रमुख कतार आइपुगेका छन्। मोसाद प्रमुख डेभिड बार्निया र सीआईए निर्देशक विलियम बर्न्सले बिहीवार कतारका प्रधानमन्त्रीसँग बैठक गरेका छन्।
इजरायली सेनाले गाजापट्टीमा हमासमाथि बम आक्रमण गरे पनि गाजामा बन्धक बनाइएका व्यक्तिलाई छुटाउन पनि लागिपरेको छ। यसका लागि इजरायलले कतारसँग वार्ता गरिरहेको छ।
उक्त बैठकमा गाजामा बन्धक बनाएका व्यक्तिलाई रिहा गर्ने विषयमा छलफल भएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बार्निया र बर्न्सले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलथानीसँग भेटघाट गरेको जानकारी दिएका छन्।
यसै विषयलाई लिएर कतारका अधिकारीले बुधवार हमासका कमाण्डरहरूसँग बैठक गरेका थिए। हमासका प्रमुख नेता इस्माइल हनियेह पनि कतारमै शरण मागेर बसेका छन्।
त्यसकै भोलिपल्ट बार्निया, बर्न्स र अब्दुल रहमान अलथानीबीच बैठक बसेको हो। बैठकमा बन्धकलाई मुक्त गर्ने विषयमा छलफल भएको आँकलन गरिएको छ। अमेरिकी अधिकारीले कुनै सम्भावित सम्झौतामाथि चर्चा भएको संकेत गरेका छन्।
उनले छलफल भएको पुष्टि गर्दै केही दिनयता सम्झौताको दिशामा वार्ता अघि बढेको जानकारी दिए। उक्त बैठकबाट आएको नतिजा सार्वजनिक गरिएको छैन।
कतारी शेख तमीम बिन हमद अलथानी यसै विषयलाई लिएर बिहीवार राति संयुक्त अरब इमिरेट्स पुगेका थिए। उनले अबुधाबीमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेटवार्ता गरेका छन्।
युद्धविरामको प्रयासलाई तीव्रता दिने र त्यहाँका २३ लाख घेराबन्दीमा परेका बासिन्दालाई पर्याप्त राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ।
यसैगरी गाजामा हिंसा घटाउन, मानवीय सहायताको प्रावधान र बन्धकहरूको रिहाइमा मध्यस्थता गर्ने उद्देश्य लिई इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र कतारी अमिर शेख तमिम बिन हमाद अलथानीले शुक्रबार कायरोमा वार्ता गरेका छन्।