सिरियामा ‘इरानी लक्ष्य’मा अमेरिकी हवाई आक्रमण, ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकी आधार शिविरमा भएको आक्रमणपछि अमेरिकाले गरेको जवाफी हवाई हमलामा कैयौंको मृत्यु भएको खबर छ । समाचार एजेन्सी एएफपीले सिरियाको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै पूर्वी सिरियामा अमेरिकी हवाई हमलामा कम्तीमा आठ इरान समर्थक लडाकू मारिएको जनाएको छ।

यस हमलामा कुल आठ जनाको मृत्यु भएको संगठनले जनाएको छ, जसमध्ये एक जना सिरियाका नागरिक र एक जना इराकका छन्। यी हवाई हमलाहरू सिरिया र इराकको सीमा नजिक रहेको पूर्वी देइर एजोर प्रान्तको मायादिन र अबु कमल क्षेत्रमा भएका थिए।

यसअघि आइतबार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकाले सिरियामा रहेको इरानसँग जोडिएका दुईवटा सैन्य आधार शिविरमा हवाई हमला गरेको बताएका थिए । रक्षामन्त्रीका अनुसार मध्यपूर्वमा अमेरिकी सेनामाथि भएको आक्रमणको जवाफमा यी आक्रमणहरू गरिएको हो।

अमेरिकी सेनाले सिरियामा पछिल्लो तीन हप्ताभित्र तेस्रो पटक हवाई आक्रमण गरेको हो । अमेरिकाले लक्षित गरेको लक्ष्य इरानसँग जोडिएको बताएको छ । हालैका समयमा, मध्यपूर्वमा धेरै अमेरिकी लक्ष्यहरू विरुद्ध हिंसात्मक गतिविधिहरू बढेका छन्। अमेरिकाले यी आक्रमण गर्ने समूहको पछाडि इरानको हात रहेको विश्वास गरेको छ ।

अक्टोबर १७ देखि, इराक र सिरियामा अमेरिकी लक्ष्यहरूमा ४५ भन्दा बढी आक्रमणहरू भइसकेका छन्। जसमा दर्जनौं अमेरिकी सैनिक घाइते भएका छन् । यस क्षेत्रमा अमेरिकी सेना विरुद्धको आक्रमण इजरायल-हमास युद्धसँग सम्बन्धित छ।

सम्बन्धित समाचार