चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत नेपाल लगातार दुई खेलमा पराजित भएको छ । बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।
ब्याटिङमा सर्वथा असफल भएको त्यस खेलसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ । अब सिरिजको उपाधि भिडन्त आयोजक हङकङ र तान्जानियाबीच हुनेछ ।
नेपालले भने लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ । नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल रहेको छ ।
नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्यो । हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडे । त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन् ।
त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो ।
नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दोस्रो ओभरमा ओपनर पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो ।
तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन् । उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन् । उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १/१ रनमा आउट भए । लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन् । उनले २५ रनको योगदान गरिन् । रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन् ।
त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए । रोमा थापा ७ रनमा नटआउट रहिन् । बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन् ।
हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो ।