जापानलाई ४५ रनले हराउँदै नेपाल बन्यो तेस्रो

काठमाडौं स् चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपाल तेस्रो बनेको छ । आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो। हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । एक सय ११६ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।

जापानका लागि अकारी निसिमुराले २९ रन बनाइन भने हिनासी गोतोले १६ तथा अहिल्या चन्डलले ११ रन बनाइन् । जापानका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । जापानलाई सस्तैमा समेट्न खुशी राई, संगीता राई, इन्दू बर्मा र सीता रानामगर र सोनी पाख्रिनले एक एक विकेट लिए । त्यस अघि नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन्।

यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए । नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो । आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन् । शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो । महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

सम्बन्धित समाचार