काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा स्कट म्याक्टोमेनीले दुवै गोल गरेका थिए । चेल्सीका लागि कोल पालमरले १ गोल फर्काए । घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले १९ औं मिनेटमा म्याक्टोमेनीको गोलमा अग्रता बनाएको थियो ।
४५ औं मिनेटमा चेल्सीका पालमरले बराबरी गोल गरेका थिए । तर, ६९ औं मिनेटमा म्याक्टोमेनीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले २–१ को अग्रता लियो ।
सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकाल्न सफल भयो । जितसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
युनाइटेडका २७ अंक रहेको छ । पराजित भएको चेल्सी भने १९ अंकका साथ १० औं स्थानमा रहेको छ ।