आयोजक यूएईले एसीसी यू-१९ एसिया कपमा टेष्ट राष्ट्र श्रीलंकालाई पराजित गरेको छ । आज भएको समूह बी को दोस्रो खेलमा श्रीलंकाविरुद्ध आयोजक यूएईले २ विकेटको जित हात पारेको हो । यो जितसँगै यूएईले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
श्रीलंकाले दिएको २२१ रनको चुनौतीपूर्ण लक्ष्य यूएईले ४८.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि तनिश सुरीले ७५ रनको पारी खेले । ८८ बलको सामना गरेका उनले ३ छक्का र ४ चौका हिर्काए । त्यस्तै कप्तान आयन अफ्जाल खानले ३३ रन थपेको खेलमा मारुफ मार्चेन्टले २०, आर्यन शर्माले १९, इथान डिसुजाले १७ रन थपे । अम्मर बदामी र आयमान अहमद क्रमस १७ र १० रनमा नटआउट रहे ।
बलिङतर्फ श्रीलंकाका गारुक सांकेतले ३ विकेट लिए । मालासु तारुपाती र विश्वा लाहुरुले समान १ विकेट लिए । अब श्रीलंकाले बंगलादेश र यूएईले जापानसँग खेल्न बाँकी रहेको छ ।
यसअघि टस हारेर सुरुवातमा ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन जोडेको थियो ।
यसअघि समाचारको शिर्षकमा अन्याथा हुन गएकोमा क्षमाप्रार्थी छौं – सम्पादक