पोखराको पारासिडो बारमा अन्तिम प्रस्तुति दिएसँगै चर्चित ब्यान्ड १९७४ एडीको सन् २०२३ को पूर्वनिर्धारित मिनी टुर सकिएको छ ।
आठ सयभन्दा धेरै दर्शकहरू माझमा ब्यान्डले ब्यान्डले ‘छुँदैन’, ‘हिँड्दा हिँड्दै’, ‘पिँजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीत सुनाएको थियो ।
उक्त ब्यान्डले गीत गाउँदै गर्दा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पनि दर्शकदीर्घामा उपस्थित थिइन् । फेलिसिटीले सामाजिक सञ्जालमार्फत आफू १९७४ एडी ब्यान्डको फ्यान भएको बताउने गरेकी छन् ।
अक्सर ढिलो सुरुवात हुने लेकसाइडको लाइभ म्युजिक ट्रेन्डमा प्रिय ब्यान्डको प्रस्तुतिका क्रममा ‘अब तपाईंहरूको पालो’ भन्दै भोकलिस्ट तथा ड्रमर एड्रियन प्रधानले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन
दिलाएका थिए ।
फिरोज स्याङ्देनको स्वरमा ‘तिमीलाई पिरतीले बाँधौला’ गीतबाट सुरु भएको कन्सर्ट एक दर्जनभन्दा धेरै गीतपछि एड्रियन प्रधानको स्वरमा ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर टुङ्गिएको थियो ।
यो प्रस्तुति सन् २०२३ लाई मैझारो गर्नेगरि घोषणा गरिएको मिनी टुरको अन्तिम कन्सर्ट भएको ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताए ।