भारतमा निलम्बनमा पर्ने सांसदको सङ्ख्या १ सय ४१ जना पुग्यो

भारतको लोकसभाबाट आज थप ४९ जना सांसद निलम्बनमा परेका छन् । यसै महिनाको १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन् ।

निलम्बित सांसद अब्दुल्लाहले पत्रकारहरूसँग कुराकानी गर्दै संसदमा प्रतिपक्षी रहेसम्म प्रश्न गर्न नछोड्‍ने बताए । संसदको सुरक्षा उल्लंघन भएको विषयमा गृहमन्त्री अमित शाह आएर पाँच मिनेट जवाफ दिँदा केही फरक नपर्ने उनको भनाइ थियो ।

‘मलाई भन्नुस् प्रहरी कोसँग छ ? गृह मन्त्रालय अन्तर्गत पर्छ ? गृहमन्त्री पाँच मिनेट मात्रै सदनमा आएर सुरक्षा उल्लंघन भएको विषयमा जाँच भइरहेको छ भन्दा के हुन्छ ?,’ उनले भने, ‘जबसम्म सदनमा विपक्षी नेताहरू रहन्छन् हाम्रो माग जारी रहन्छ।’

नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो सोमबारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए । सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् ।

सम्बन्धित समाचार