हानेदा विमानस्थलमा आगलागी : कोस्ट गार्ड विमानमा सवार पाँचजनाको मृत्यु

जापानको हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोकिँदा कोस्ट गार्ड विमानमा रहेका छ मध्ये पाँच जनाको ज्यान गएको छ ।

विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको विमान रनवेमा रहेको कोस्ट गार्ड विमानमा ठोकिँदा दुई वटै विमानमा आगलागी भएको थियो । आगलागीपछि जापान एयरलाइन्समा रहेका तीन सय ७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षितरूपमा बाहिर निकाले पनि कोस्ट गार्ड विमानका पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँच जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जापानका यातायातमन्त्रीलाई उद्धृत गर्दै जनाएको छ ।

सोमबारको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा खाद्यान्न लैजाँदै गरेको कोस्ट गार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमानसँग ठोक्किएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार