मेड्रिड– सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा ६ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले बताएको छ ।
उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त संगठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो ।
मृतक वा बेपत्ता भएका आप्रवासीहरूको परिवार र आधिकारिक उद्धार तथ्यांकहरू संकलन गर्ने संगठनका अनुसार यसमा कूल तीन सय ८४ बालबालिका समावेश छन् । छ हजार सातको मृत्यु वा बेपत्ता अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा भएको हो ।
भूमध्य सागरमा नियन्त्रण कडा भएपछि प्राय भीडभाडयुक्त मुस्किलले समुद्रमा चल्ने जहाजहरूमा पर्याप्त खाना र पानीको अभावका साथ सात वटा टापु अफ्रिकामा गरिबी र सङ्घर्षबाट भागेका मानिसका लागि मनपर्ने गन्तव्य बनेका छन् ।
आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार आठ सय ५२ सम्म पुगेको छ । यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो ।
अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन् । उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ ।