भिजिट भिसा प्रकरण : २२ जनाविरुद्ध मुद्धा दर्ता, ८ अधिकृत फरार

नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । यीमध्ये एकजना अधिकृतसहित १० जना पक्राउ परेका छन्। ८ अधिकृतसहित १२ जना अहिले फरार छन्।

पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल भरतपुर महानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा छन्।

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्।

१२ जना फरार

बागलुङका बिमल पौडेल लगायतका ८ जना अधिकृत र पूर्व अधिकृतहरु अहिले फरार छन् । पौडेलसहित अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागोको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका हुन्। उनीहरु मध्य केही नेपालमै लुकीछिपी बसेको, र केही नेपाल छाडेर भागेको आशंका छ ।

काठमाडौंका विभिन्न ट्राभल कम्पनीमार्फत हुने तस्करीका लागि उनीहरूले मोटो रकम लिएर विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । अध्यागमन कार्यालयमा रहेर तस्करीमा संलग्न आरोपितमध्ये प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको सूक्ष्म अनुसन्धान गरेको थियो ।

फरार रहेका मध्येका बिमल पौडेलमाथि भने प्रहरीले गृह मन्त्रालयमा रहँदा गरेका अरू थप दुईवटा अनियमितताका आरोपलाई समेतसँगै जोडेर अनुसन्धान गरिरहेको छ । पौडेलको बैङ्क खातामा अस्वाभाविक कारोबार देखिएको भन्दै यसको समेत सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीया रिता दमाईविरुद्ध पनि मुद्दा चलाइएको छ।

गत कात्तिक १४ गते विभिन्न एयरलाइन्सबाट पर्यटक भिसामा विभिन्न देश जान लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा उनीहरुको हवाई यात्रा अनुमति लगायतका कागजात शंकास्पद देखिएको थियो। 

त्यसपछि प्रहरीले सम्बन्धित एयरलाइन्सका कर्मचारीसँग सोधपुछ गरेको थियो। एयरलाइन्सले समेत कागजातहरु पूरा नभएको भनेपछि

उनीहरूका राहदानी लगायतका कागजात प्रहरीले नियन्त्रणमा लिएको थियो।  त्यसपछि विमानस्थल सुरक्षा प्रहरीले यी कागजात उपत्यका अपराध अनुसन्धानन कार्यालयमा पठाएको थियो। अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा कुवेत जान लागेका महिलाहरुबाट बरामद भएका कागजात नक्कली भएको पुष्टि भएको थियो। 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार