फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार २०२६ को फाइनल १९ जुलाइमा न्यु जर्सीमा हुनेछ । त्यसअघि ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।
मेक्सिको, अमेरिका र क्यानडा गरी तीन सहआयोजकले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन् । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन् ।
उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ ।
पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ । २०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ ।