१३ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, नेपाललाई बाइपास गरेर सहमति गर्ने प्रयास

पार्टी विवाद समाधानका लागि गठन भएको नेकपा (एमाले) को कार्यदलको बैठक अहिलेसम्म जारी छ । बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका वार्ता टोलीका सदस्यहरू १२ घण्टादेखि वार्तामै छन् ।

दिउँसो कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए भने साँझ विष्णु पौडेल नक्सालस्थित होटल मेरियट पुगेर फर्किएका छन् । उनी होटल मेरियटमा अर्थसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएर फर्किएका हुन् ।

वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ । स्रोतका अनुसार ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ ।

तर वरिष्ठ नेता नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् ।

यसैबिच नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएका छन् । नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस नभएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार