इंग्ल्याण्डलाई हराउँदै ५३ वर्षपछि इटालीले जित्यो युरोकपको उपाधि

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर नायक बन्न सकेनन् ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुनस् प्रतिस्पर्धात्मक देखिएको थियो । इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो । इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।

५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा सफल हुन नसक्दा पहिलो युरो जित्ने सपना पूरा हुन सकेन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार