जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले यो सिजन सबैखाले प्रतियोगितामा गरी लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । लगातार तेस्रो हार व्यहोर्ने क्रममा आइतबार राति बुन्डेसलिगाअन्तर्गतको खेलमा बायर्न भीएफएल बोचुमसँग ३–२ ले पराजित भएको हो ।
जमल मुसियालाको गोलमा बायर्नले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । मुसियालाले १४औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रतामा राखेका थिए ।
३८औँ मिनेटमा टाकुमा असानोले गोल गर्दै बोचुमलाई खेलमा फर्काएका थिए । ४४औँ मिनेटमा केभेन स्कल्टरबेकले गोल गरेपछि बोचुमले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
७८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै केभिन स्टोगरले बोचुमको अग्रतालाई ३–१ को स्थितिमा पु¥याए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा ह्यारी केनले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् ।
त्यसअघि, ७६औँ मिनेटमा डायोट उमामेकानोले रातो कार्डको दर्शन गरेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।
जारी सिजन खराब लयमा रहेको बायर्नको यो लगातार तेस्रो हार हो । बायर्नले यसअघि बुन्डेसलिगामा बायर्न लेभरकुजेनसँग ३–० र च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा लाजियोसँग १–० को हार व्यहोरेको थियो ।
घरेलु लिगमा २२ खेलबाट ५० अंकसहित बायर्न तालिकाको दोस्रो स्थानमा छ । बायर्न शीर्ष स्थानको लेभरकुजेनभन्दा आठ अंकले पछाडि छ । समान खेलबाट लेभरकुजेनले ५८ अंक जोडेको छ । समान खेलबाट २५ अंकको बोचुम ११औँ स्थानमा छ ।