रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई लग्जरी कार उपहार दिएका छन् । आइतबार किमका सहयोगीहरुलाई यो लिमोजिन हस्तान्तरण गरिएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले पनि उपहार हस्तान्तरण गरेको पुष्टि गरे। यो रुसमै निर्मित ओरस लक्जरी सेडान भएको उनले बताए। पुटिन आफैँ पनि यस्तै कारमा चढ्छन् ।
पछिल्लो समय यी दुई मुलुकबीचको निकटता बढ्दै गएको छ । दुवै देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले युक्रेनसँगको युद्धका लागि रसियालाई तोपखाना, रकेट र ब्यालिस्टिक मिसाइलहरू उपलब्ध गराउँदै आएको मानिन्छ। तर दुबै पक्षले प्रतिबन्ध उल्लंघन गरेको अस्वीकार गर्छन्।
गत सेप्टेम्बरमा मात्र पुटिनले किमलाई रुसको सुदूरपूर्वमा स्वागत गरेका थिए । सो भ्रमणका क्रममा किमले पुटिन सवार ओरस लिमोजिनको निरीक्षण गरेका थिए। पुटिनले उनलाई कारभित्र समेत निम्त्याएका थिए।
किम जोङ उन कार उत्साही मानिन्छन् र उनीसँग लक्जरी विदेशी गाडीहरूको संग्रह छ।