सर्वोच्चले न्याय दियो, अब सल्लाह गरेर अगाडि बढ्छौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरुले न्याय पाएको बताएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गरेर आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब विपक्षी गठबन्धनमा सल्लाह गरेर अघि बढ्ने बताए ।

‘सर्वोच्चले विधिको शासन बचाएको छ । केपी ओलीले पटक पटक संविधान मिच्ने काम गरे । हामीले त्यसको विरोध गर्दै आइरहेका छौं । संसद् भनेको जनप्रतिनिधिको ठाउँ हो । लोकतन्त्रमा संसदले गर्ने काम महत्वपूर्ण हुन्छ,’ उनले भने ।

उनले थपे, ‘सर्वोच्चको फैसला आएपछि अब हामीहरु सल्लाह गर्छौं। हामी सर्वोच्चमा न्याय माग्न गएका थियौं, सर्वोच्चले न्याय दिएको छ । अब सल्लाह गरेर अघि बढ्छौं ।’

देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा सर्वोच्चले सोमबार संसद् विघटनको निर्णय बदर गर्न परमादेश जारी गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार