छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइजले उपाधि चुमेको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलो सहभागितामै च्याम्पियन बन्यो । विजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता एपीएफले सात लाख रुपैयाँमा चित्त बुझायो ।
चर्च ब्वाइजका निम्ति अवयामि फाकुन्लेले खेलको ११औँ र ६६औँ मिनेटमा गोल गरे । ८७औँ मिनेटमा राजेश परियारले गोल गर्दै चर्च ब्वाइजलाई सानदार जित दिलाए ।
पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागिय टिम एपीएफले गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार व्यहोर्नुपर्यो ।