फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने बताएका छन् ।
सोमबार बिएफएमटिभी र आरएमसीसँगको अन्तर्वार्तामा उनले टोलीहरूलाई सिन नदीमा नौकाहरूमा विहार गराउनुको सट्टा उद्घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्न सकिने र स्ट्याड डि फ्रान्समा पनि स्थानान्तरण गर्न सकिने बताए ।
मुख्य रङ्गशालामा खेलहरू उद्घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन् । यद्यपि युक्रेन र गाजामा युद्ध सुरु भएपछि आयोजकहरूले जुलाई २६ मा हुने उद्घाटन समारोहलाई लक्षित गरी कुनै भिन्नै स्थानमा सार्न सकिने भन्ने कुरालाई अहिलेसम्म अस्वीकार गरेका छन् ।
“यो उद्घाटन समारोह विश्वमा सबैभन्दा पहिलो हो, हामी यो गर्न सक्छौँ र गर्न गइरहेका छौँ”, राष्ट्रपति म्याक्रोनले भने, “तर प्लान बि र प्लान सि छ जसमा समारोहलाई पेरिसको उत्तरमा स्टेड डि फ्रान्समा सार्ने समावेश छ, हामी वास्तविक समयमा यसको विश्लेषण गर्नेछौँ ।”
उनले खेलका क्रममा ओलम्पिक युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्ने बताए । युद्धविराम ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा हो । “हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौँ र यो मेरा लागि हाम्रा धेरै साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ ।”