वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित

नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १५१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि ओपनर लोकेश वमले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो । कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए । विनोद भण्डारीले १९ तथा अनिल शाहले १४ रन थपे । 

कप्तान दीपेन्द्र सिंह ऐरी ७ रन बनाउँदा रन आउट भए। कमल सिंह ऐरि ६ रन बनाउँदा क्याच आउट भए । 

नेपाललाई सस्तैमा रोक्न वेष्ट इण्डिजका हेडन वेल्सले ३ विकेट लिए । गुणाकेश मोतीले २ तथा फावियन एलियन र म्याथु फोर्डले समान १ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए । ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए । नेपालका लागि करण केसी र सागर ढकालले १/१ विकेट लिए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २-१ को स्थितिमा पुर्‍याएको छ । पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो ।

सम्बन्धित समाचार