काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा एक जना पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ । शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ।
थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा दुईवटा ब्लेडसमेत फेला परेको छ ।
शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।
‘हामीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले भने।