एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको छ । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल लगातार १५ औँ पटक च्याम्पियन भएको हो ।
प्रतियोगितामा नेपालले १९ स्वर्ण जित्दै १५ औँ पटक च्याम्पियन बनेको हो । नेपालले १९ स्वर्णका साथै २४ रजत र ३० कास्य पदक जितेको छ ।
१२ स्वर्णसहित भारत दोस्रो बन्यो । उसले १२ स्वर्णसहित ६ रजत र १२ कास्य पदक जित्यो । पश्चिम बंगालको नेतृत्व गरेको टीएसआरकेकेओ टोली २ स्वर्णसहित तेस्रो बन्यो । दुई स्वर्णसहित यो टिमले ३ रजत र ७ कास्य पदक जितेको छ ।
प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समूहमा २९ स्पर्धामा ४० स्वर्ण, ४० रजत तथा ८४ कास्य पदकका लागि स्पर्धा भएको थियो ।