स्पेनिस क्लब रियल म्याड्रिडले १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ।
लन्डनस्थित बेम्ब्ली स्टेडियममा शनिबार राति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले हराउँदै रियलले १५ औँ कीर्तिमानी उपाधि उचालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो ।
रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए ।
८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए ।
डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा मौका खेर फाल्दा स्ट्राइकर निकलस फुलक्रगको प्रहार पोस्टमा लागेको थियो ।
कार्लो एन्सेलोटीले प्रतियोगितामा प्रशिक्षकको रूपमा आफ्नो पाँचौं उपाधि जिते। क्रुससहित कार्भाहल, नाचो र लुका मोड्रिचले रियल म्याड्रिडबाट छैटौं च्याम्पियन्स लिगको मेडल जित्न सफल भए ।