आइसिसी टी-२० विश्वकपमा नामिबियाले ओमानलाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो ।
सुपर ओभरमा डेविड विजी र कप्तान गेहार्ड इरास्मसले ब्याटिङ गरेका थिए । विजीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा २ रन लिए । चौथो बलमा एक रन लिँदै कप्तान इरास्मसलाई स्ट्राइक दिए ।
कप्तान इरास्मसले पाँचौं र छैटौं बलमा चौका प्रहार गरेपछि नामबियाले ओमानलाई जितका लागि २१ रनको लक्ष्य दिएको थियो । जवाफमा ओमानले १० रन मात्रै बनाउन सक्यो ।
त्यसअघि ११० रनको लक्ष्य पछ्याएको नामिबियालाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक थियो । डेविड विजीले खतरा मोलेर एक रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाका लागि जान फ्रिलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे ।
निकोलस डेभिडले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन मात्रै जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ ओमानका मेहरान खानले ३ तथा बिलाल खान, अकिब इलियास र आयान खानले १र१ विकेट लिए।
पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको थियो । ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।
डेविड विजीले ३, गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।
ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए । जिशन मक्शुदले २० बलमा २२ रन जोड्दा आयान खानले १५ रनको योगदान गरे। अन्य ब्याटरले रन जोड्न सकेनन् ।
ओपनर काश्यप प्रजापति र कप्तान अकिब इलियास शून्यमा आउट हुँदा नशीम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११ र कलिमउल्लाह २ रन बनाएर आउट भए ।