अमेरिका र वेस्ट इन्डिजको संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयनुसार आज राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।
समूह डी मा यी दुई टोलीसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यसअघि हिजो भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले २ अंक जोडेको छ ।
विश्वकप खेल्न अमेरिका पुगेको क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।
नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।