नेपालले विश्वकपको पहिलो म्याच खेल्ने पूर्वसन्ध्यामा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले यो भिडियोमा खेलाडीमाथि जातीय विभेद भएको भन्दै आक्रोस पोखेका छन् ।
हिजो नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको थियो । सोहीबेलाको सार्वजनिक भएको भिडियो फुटेजमा प्रशिक्षक र खेलाडीले पण्डितको हातबाट टीका लगाएर प्रसाद ग्रहण गरिरहेको देखिन्छ । तर, सोमपाल कामीले भने टीका नलगाइकन प्रसाद मात्रै लिएर हिँडेका छन् । टीका लगाउनुअघि उनले आरती लिएको देखिएको छ ।
यही भिडियो शेयर गर्दै धेरैले सोमपालमाथि विभेद भएको दाबी गरेका हुन् । तर, यो दृष्यको यथार्थ भने फरक रहेको त्यसबखत मन्दिरमै रहेका पत्रकार रामचन्द्र भट्टले जानकारी दिएका छन् ।
पत्रकार भट्टका अनुसार सोमपालले पहिले नै पुजा गरेर टिका लगाएका कारण प्रसाद मात्र लिएका हुन् । भट्टले सामाजिक सञ्जालमा लेखेका छन्– ‘क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।’
पहिल्लै निधारमा टिका भएकोले सोमपालले साथीहरुसँग जाँदा प्रसाद मात्र लिएका थिए । ‘सोमपालपछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् । भट्टले भनेका छन् ।’
विश्वकपमा आज नेदरल्याण्ड र नेपाल भिड्दै छन् । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरू हुनेछ ।