पेमा खान्डुले लगातार तेस्रोपटक भारतीय राज्य अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ खाएका छन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ खाएका छन् ।
पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल १९ मा भएको विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो ।
बिहीबार कडा सुरक्षा व्यवस्थामा आयोजित शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, किरेन रिजिजु र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सहभागी भएका थिए । भाजपाले लगातार तेस्रोपटक अरुणाचल राज्यमा सत्ता हात पार्न सफल भएको हो ।
६० सदस्यीय विधानसभामा भाजपाले ४६ सिट जितेर बहुमत हासिल गरेको छ । जसमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएका १० उम्मेदवारमध्ये पेमा खान्डु पनि थिए ।
नेसनल पिपुल्स पार्टीले पाँच सिट र पिपुल्स पार्टी अफ अरुणाचलले दुई सिट जितेका छन् । एनसीपीले तीन र कांग्रेसले एक सिट जितेका छन् ।