आईसीसी टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ सय १६ रनको मध्यम लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीबाट ‘कट एन्ड बोल्ड’ हुनुअघि उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । ट्रिस्टान स्टुब्सले २७ रन बनाए । कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न नेपालबाट सात विकेट नै स्पिन बलरले लिए । नेपालका कुशल भुर्तेलले चार विकेट लिए । चार ओभर बलिङ गरेका भुर्तेलले १९ रनमात्र खर्चिए । दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २१ रनमात्र खर्चिए । यसबाहेक, किफायती बलिङ गरेका सन्दीप लामिछानेले विकेट नलिए पनि चार ओभरमा १८ रनमात्र खर्चिए ।

सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

सम्बन्धित समाचार