यस वर्षको हिट फिल्म ‘बोक्सीको घर’ का लेखक एवं निर्देशक सुलक्षण भारतीले निर्मातासँग असन्तुष्टि पोखेका छन् ।
फिल्मले ५१ औँ दिन मनाइरहँदा फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारती भने असन्तुष्ट देखिएका छन् । आइतबार भारतीले फेसबुकमा निर्मातालक्षित एक स्टाट्स लेख्दै आफूलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
मुख्य भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारी फिल्मको निर्माता समेत हुन् । फिल्म प्रदर्शनका लागि केकी हालै युरोप पुगेर फर्किएकी छन् । जसकारण उनको यो स्टाट्स केकीलक्षित रहेको बुझ्न सकिन्छ । खासगरी, प्रचारप्रसारमा आफूलाई बेवास्ता गरिएको असन्तुष्टि भारतीको छ ।
उनले स्टाटसको अन्त्यमा ‘ढोंगीपन’ भनेर टिप्पणी गरेका छन् । तर उनले यो स्टाटस आक्षेप नभएर, प्रश्न मात्र रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् :
मलाई जुन माया दर्शकहरुले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।
यहाँ आफ्नो लागि आफैंले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरु हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ?
जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?
बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?
अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’