काठमाडौंका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन (तस्बिरहरू)

काठमाडौं उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ । इन्धन पाइन छाडेपछि काठमाडौं उपत्यकामा पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेका छन् ।

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा अहिले सवारीको ताँती नै देख्न सकिन्छ । ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौंमा पेट्रोल अभाव भएको हो ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् । ट्याङ्कर छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् । आइतबार थानकोट डिपोबाट आर्मी, प्रहरी र सशस्त्र प्रहरीले मात्रै इन्धन उठाएका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको थियो ।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

सम्बन्धित समाचार