अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो ।
यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो ।
सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो । अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो ।
अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य अफगानिस्तानले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।
दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो । रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे ।
ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भए । त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११।५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो ।
यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो । दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।