उरूग्वेले कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
शुक्रबार बिहान बोलिभियालाई ५-० गोलले पराजित गर्दै उरूग्वेले एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो । बोलिभियालाई पराजित गर्ने क्रममा आठौं मिनेटमा फाकुन्डो पेलिस्त्रीको गोलबाट उरूग्वेले अग्रता लिएको थियो ।
डार्विन नुनेजले २१ औं मिनेटमा, म्याक्सिमिलियानो अरउजोले ७७ मिनेटमा, फेडरिको भालभर्डेले ८१ मिनेटमा र रोद्रिगो बेन्टानकुरले ८९ औं मिनेटमा गोल गरे ।
समूह ‘सी’ को अर्को खेलमा पानामाले अमेरिकालाई पराजित गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पानामाले अमेरिकालाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनल सम्भावना कायम राखेको हो ।
पानामाको जितमा सिजर ब्ल्याकम्यानले २६ मिनेट र जोश फजार्डोले ८३ औं मिनेटमा गोल गरे । अमेरिकाका फोलरिन बलोगनले २२ मिनेटमा गोल गरेका थिए ।
पहिलो खेलमा उरूग्वेले पानामालाई ३-१ गोलले पराजित गरेको थियो भने अमेरिकाले बोलिभियालाई २-० गोलले पराजित गरेको थियो ।
अब अन्तिम खेलमा उरूग्वेले अमेरिका र पानामाले बोलिभियासँग खेल्नेछ ।