भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो ।
पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका उपविजेतामै सीमित बन्यो । दक्षिण अफ्रिकाको हारसँगै विश्वकपका अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
यता भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनाएको छ । विश्वकप इतिहासमा अपराजित रहेर टोलीलाई विश्वकप जिताउने कप्तान रोहित शर्मा एक्ला कप्तान हुन् ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् ।
एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।
ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४(४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२(२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए ।
उनी आउट हुँदा दक्षिण अफ्रिका ८।५ ओभरमा ७०(३ को अवस्थामा थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।
चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।
दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
भारतसँगै टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिज र इङ्ल्याण्डले समान दुई पटक जितेका छन् । पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो । २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ । सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो ।
सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि उचाले यता भारतले विश्वकप ट्रफी जित्न सकेको थिएन ।
सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेताको रुपमा विश्वकप खेल्नेछ । सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ ।