विराटनगरमा छुरा प्रहार गरि एक युवकको हत्या, दुई जना घाइते

विराटनगरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।

प्रहरीले भने घाइतेलाई अस्पताल पुर्‍याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ ।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए । ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’

घाइते मध्ये रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’

प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार