नेपाली युवा महिला भलिबल टोलीले माल्दिभ्सको मालेमा हुने काभा महिला यू–२० च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध खेल्ने भएको छ ।
साउन ३ गते हुने दिनको दोस्रो खेलमा नेपालले राति सवा ९ बजे खेल्ने तालिका छ । आगामी साउन ३ गतेदेखि हुने च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक मालदिभ्स र कीर्गिस्तान खेल्नेछन् ।
राउण्ड रोविनको दोस्रो खेलमा नेपालले साउन ४ गते कीर्गिस्तानसँग खेल्नेछ । सो खेल राति साढे ८ बजे हुनेछ। अन्तिम खेलमा साउन ५ गते बिहिबार आयोजक मालदिभ्ससँग अपरान्ह ४ बजे खेल्ने तालिका छ ।
च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, किर्गिस्तान र श्रीलंका रहेका छन्। राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली र दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछ । यसको विजेताले फाइनल खेल्नेछन् ।
काभाका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । नेपाली टोली अर्को साता मालदिभ्स प्रस्थान गर्नेछ ।
अन्तिम टोली
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री