युवती जिस्क्याएको निहुँमा भएको थियो कामतको हत्या, नाबालकसहित ४ जना पक्राउ

विराटनगरमा सोमबार राति कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङका १८ वर्षीय निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी, विराटनगर–११ का २० वर्षीय सोनु गिरी र मोरङको रंगेलीका १६ वर्षीय एक किशोर रहेका छन् ।

विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै भएको घटनामा जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको शरीरमा गहिरो चोट छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको छ ।

‘कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो,’ उनले भने ‘गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ ।’

दुवै जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।

बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने ‘कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

प्रहरीका अनुसार आइतबार नै दुई समूहबीच भनाभन भएको थियो । पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे सुक्ष्मरूपमा अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजीलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ ।

विराटनगरमा छुरा प्रहार गरि एक युवकको हत्या, दुई जना घाइते

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार