नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुईजना गेष्टहाउस सञ्चालक पक्राउ​​

नाबालिका किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिला सिंतान रहेका छन् ।​​​​

सिंतानद्वयले भक्तपुरको मध्यपुर थिमी नगरपालिका– १ मा पर्ने मनोहरा–जडिबुटीमा सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेष्ट हाउस सञ्चालन गरेका छन् । उक्त गेष्ट हाउसमा ​नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोप उनीहरूमाथि छ ।

प्रहरीको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सिंतानले बालिकालाई वेश्यावृत्तिमा लगाएबापत सेवाग्राहीबाट एक हजारदेखि पाँच हजारसम्म उठाउने गरेका थिए ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । साथै गेष्ट हाउसमा छापा मार्दा त्यहाँ परिवार नियोजनका अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक चक्कीसमेत फेला परेको थियो ।

ब्युरोले तीन बालिकालाई गेष्टहाउससबाट उद्धार गरेर सुरक्षित आवासमा राखेको छ । अभियुक्तहरूलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार