नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो ।

सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । दुवैमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार