अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए ।
घटनास्थलको तस्बिरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।