फ्रान्सका सर्वाधिक गोलकर्ता जिरुडले लिए सन्‍न्यास

फ्रान्सका स्टार खेलाडी ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता रहेका छन् । उनले १३७ खेलमा ५७ गोल गरेका छन् ।

जिरुडले सामाजिक सञ्जालमार्फत सन्‍न्यास घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘फ्रान्सका लागि यही प्रतियोगिता अन्तिम रह्यो । यो सबै क्षण सम्झिरहेको छु ।’

२०१८ का विश्व विजेता जिरुडले अगाडि थपे, ‘मैले १३ वर्षसम्म फ्रान्सको टिमको सेवा गरेको छु, त्यो मेरो हृदयमा सधैं कुँदिरहने छ । यो मेरो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो ।’

आफ्नो अन्तर्राष्ट्रिय करिअरमा जिरुडले रुस विश्वकप २०१८ जित्दै विश्व विजेता बन्दा युरोकप उपविजेता रहे । सन् २०२२ को विश्वकप फाइनलमा थियरी हेनरीको ५१ गोलको राष्ट्रिय कीर्तिमान तोडेका उनले उक्त समयमा टिम अर्जेन्टिनासँग पराजित भएर उपविजेता बनेको थियो ।

जिरुडले सन् २०११ मा फ्रान्सको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए र जर्मनीविरुद्ध २-१ को मैत्रीपूर्ण जितमा पहिलो गोल गरेका थिए । उनले मार्च २०२४ मा चिलीविरुद्ध अन्तिम गोल गरेका थिए ।

उनले गत मे महिनामा युरोकप आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए। उनले बेन्चबाट चार उपस्थिति बनाए । तर, फ्रान्स सेमिफाइनलबाट अगाडि बढ्न सकेन ।

आर्सनल, चेल्सी र एसी मिलानका पूर्व स्ट्राइकर अर्को सिजन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा सामेल हुनेछन् ।

सम्बन्धित समाचार