एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ । अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा रोचक जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् भने बिन्दु रावलले २० रन जोडिन् ।
११३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का डेभलपमेन्टका लागि भी बालासूर्याले सर्वाधिक ३८ रन जोडिन् भने आर नेथ्रान्जलीले २६ रन बनाए । श्रीलङ्का एक बल खेल्न बाँकी हुँदा श्रीलङ्का अलआउट भएको थियो । नेपालका लागि कविता जोशीले तीन विकेट लिए भने कृतिका मरासिनीले दुई विकेट हात पारे । उनीहरु दुवैजनाले १६–१६ रन खर्चिए ।
पहिलो खेल ३३ रन र दोस्रो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । अब नेपालले साउन ४ गते यूएईविरुद्ध एसिया कपको पहिले खेल खेल्नेछ । नेपालको रहेको समूह ‘ए’ मा यूएईसँगै भारत र पाकिस्तान छन्। एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।
समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।