सर्लाहीमा एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले परिवारकै दुई सदस्यलाई पक्राउ गरेको छ ।
ईश्वरपुर नगरपालिका-१३ आलेटोल निवासी ५९ वर्षीया जंगलबहादुर बलको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती ६६ वर्षीया रीता बल र २५ वर्षीया छोरी शितल लामालाई पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा उनीहरूले कुटपिट गर्दा जंगलबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौरीशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुवैलाई घरबाटै पक्राउ गरेको हो । जंगबहादुरलाई प्रहरीले आफ्नै घरको कोठामा मृत अवस्थामा फेला पारेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।