अरूको नागरिकताबाट बैंक खाता खोल्ने ध्रुवकृष्ण पक्राउ

अरूको नागरिकताबाट बैंक खाता खोलेर बैंकिङ कसुरजन्य काम गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिकाका–६ का ३४ वर्षीय ध्रुवकृष्ण शर्मा छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले धनुषाका सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरेका थिए । उनले सन् २०२२ अप्रित ३ मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालय ठिमीमा खाता खोलेका गिए ।

प्रहरीका अनुसार उनले खाता खोल्ने क्रममा आफ्नो फोटो र मोबाइल नम्बर राखेका थिए । तर, नागरिकता सन्तोषको राखेका थिए । उनले सोही खाताबाट निकालेको चेकबुकको दुरुपयोग गरेको उजुरी मुक्तिनाथ विकास बैंकले दिएको थियो ।

उनलाई चाबहिलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार