ढलमा भाइरस देखिएपछि उपत्यकामा पोलियो खोप दिइँदै

ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने जानकारी दिएको हो ।

गत असार २९ मा टुकुचा–बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।

‘हालसम्म कुनै पनि व्यक्तिमा भने पोलियो भाइरस संक्रमण पुष्टि भएको छैन । यो मानिसमा पोलियो संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

पोलियोमुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी १, पी २, पी ३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ । मन्त्रालयका अनुसार जेठ ३१ मा नमुना संकलनमा टाइप थ्री भाइरस पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा अनुगमन भइरहेको, वातावरणीय निगरानी अन्तर्गत ढलको थप नमुना परीक्षण भइरहेको छ । पोलियो भाइरसद्धारा लाग्ने रोग हो ।

यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार